कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन् ।

प्रभावकारी अनुसन्धान गरी अभियुक्तलाई कानुनको दायरामा ल्याएको भन्दै अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन् । अधिकारीले केही समयअघि जिल्लाको टीकापुर नगरपालिका–१ बस्ने साढे तीन वर्षका गोलु भन्ने बिवेक विष्टको घटनामा सक्रियतापूर्वक परिचालित भई बच्चाको शव पत्ता लगाई अभियुक्तलाई कानुनी दायरामा ल्याएका थिए ।

साथै संगठनको नीतिनिर्देशन अनुरुप उच्च अनुशासनमा रहि त्रुटीरहित ढङ्गगबाट कर्तव्यनिष्ठ भई उल्लेखनीय भुमिका प्रदर्शन गरेको भन्दै उनको उच्च प्रशंसा समेत भएको छ । कार्यमा लगनशीलता, अनुशासन, इमानदारी एवं उत्कृष्ठ कार्यको कदरस्वरुप अधिकारीलाई पुरस्कृत गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।

प्रमुख प्रहरी उपरीक्षक अधिकारीलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको पनि कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीको कमाण्डमा खटिएका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहरा, प्रहरी हवल्दार मदनबहादुर बोहरा, प्रहरी जवान ईन्द्रसिंह धामी र प्रहरी जवान सूर्यबहादुर आउजी समेतलाई प्रदेश प्रहरी प्रमुख कँडेलले पुरस्कृत गरेका छन् ।

साथै सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख विश्व अधिकारीले प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रसनि अनिल शाह, प्रसनि कृष्ण मल्ल, प्रह गणेशबहादुर सेठ्ठी, प्रहरी जवान जयराम चुनारा, प्रहरी जवान शिशिर शर्मा, प्रहरी जवान नन्दराज भट्टलाई पुरस्कृत गरेका छन् ।

कार्यक्रमममा प्रदेश प्रहरी प्रमुख कँडेलले पुरस्कृत हुने सम्पूर्ण कर्मचारीहरूलाई यस प्रकारको लगनशीलता, क्रियाशीलता र सफलताले सङ्गठनको गरिमा उच्च हुनाका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत अभिप्रेरित गर्ने भएकाले आगामी दिनहरुमा समेत उच्च मनोवलका साथ सङ्गठनको उद्देश्य प्राप्तीमा सक्रिय हुन निर्देशन दिए ।

उक्त कार्यक्रममा तालुक प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दससहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया