चितवन  : कोभिड–१९ को जोखिममा पनि चितवन, तनहुँ र नवलपुको संगमस्थल पवित्र धार्मिकस्थल देवघाटधाममा तीर्थालुहरुको बाक्लो उपस्थिति देखिएको छ ।  तीर्थालुहरु पवित्र तीर्थस्थल देवघाटधाममा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै साउने सोमबार स्नानका लागि आएका छन् ।  देवघाटधाममा  स्नानका लागि नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत तीर्थालुहरु आउने गरेका छन् ।
स्नानका लागी कावासोतीबाट आएका विष्णुप्रसाद अर्याल भन्छन, “सके सधैँ नसके पनि साउनको सोमबार यहाँ आएर स्नान गरेमा मोक्ष प्राप्त हुने भएकाले हरेक वर्षको साउने सोमबार म परिवारसहित यहाँ आउने गरेको छु ।” देवघाटधाममा स्नानपछि भगवान् शिवको पूजाआराधना गरेमा शिव प्रसन्न भएर आफूहरुको रक्षा गर्ने अर्यालले बताए ।
कोरोना सङ्क्रमणको कारण यस वर्ष देवघाटधाममा बोलबम मेलाको आयोजना नगरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताए । साउनमा पाँच वटा सोमबार परेको वर्ष देवघाटधाममा भक्तजनहरुको विशेष उपस्थिति हुने गरेको अधिकारीको भनाइ छ । “पहिलो र दोस्रो सोमबार देवघाटधाममा स्नान गर्न आउने भक्तजनकोे सङ्ख्या न्यून देखिएपनि तेस्रोदेखि पाँचौं सोमबारसम्म देवघाटधाममा भीड लाग्ने गर्दछ” अधिकारीले भने, “हामीले साउन स्नानका लागि आह्वान गरेका त छैनौँ तर यहाँ आउने भक्तजनहरुको व्यवस्थापन गर्नु हाम्रो दायित्व हो, त्यसैले हामीले तयारी भने गरेका छौँ ।”
हरेक वर्षको साउन महिनामा देवघाटधाममा श्रावणी बोलबम मेला विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए  । “देवघाटको गरिमा र महिमा तथा महत्वलाई नेपालमा बसेका हिन्दु धर्मावलम्बीहरुले बुझेका छन्” घिमिरेले भने, “पृथ्वीको उत्पती कालदेखि दामोदरकुण्ड मुक्तिनाथ हुँदै बग्ने कालीगण्डकी र गोसाइँकुण्डदेखि बग्ने त्रिशूली नदीकोे सङ्गमस्थल वेणीको ठूलो महत्व छ ।” वेणीमा दुई नदीको मिलनपछि बनेको नारायणी नदीमा स्नान गरेपछि जीवनमा जानेर वा अञ्जानमा गरिएको पापबाट पनि मोक्ष प्राप्त हुने भनाइ रहेको घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया