चितवन : चितवनमा कोरोना संक्रमितको दर बढ्दै जाँदा ‘फ्रन्टलाइन’मा काम गर्ने स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिँदै गएको छ।

स्वास्थ्य कार्यालयसँग कति जना स्वास्थ्यकर्मी संक्रमित भए भनेर एकीन तथ्यांक नभए पनि जिल्लाका ठूला अस्पतालमा संक्रमित हुने डाक्टर र स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालयसँग तथ्यांक नभए पनि जिल्लाका सरकारी अस्पतालसहित मेडिकल कलेजहरूसँग तथ्यांक लिँदा ७६ जना स्वास्थ्यकर्मी संक्रमणबाट प्रभावित भएका छन्।

भरतपुर अस्पतालमा दुई जना डाक्टरसहित २२ जनामा स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिए। उनका अनुसार हालसम्म संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ। ‘संक्रमित स्वास्थ्यकर्मी होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहनुभएको छ,’ उनले भने, ‘अस्पताल नै चाहिने अवस्था आयो भने काभिड वार्डको १० शय्या अस्पतालकै स्वास्थ्यकर्मीको लागि भनेर छुट्याएका छौँ।’

चितवन मेडिकल कलेजमा २१ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। अस्पतालका कोभिड–१९ सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार एक जना आइसियूमा छन् भने बाँकी सबै आइसोलेसनमा छन्। ‘हामीले कैलाशनगरमा आइसोलेसन बनाएका छौँ,’ उनले भने, ‘अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिए त्यहीँ लगेर सुरक्षित साथ उपचार गराउने गरेका छौँ।’

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि १४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। संक्रमण देखिए पनि सबैको अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेका अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले जानकारी दिए।
यता कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने ११ जना डाक्टरसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालमा एक जना आइसियूमा उपचाररत रहे पनि बाँकी सबै होम आइसोलेसनमा बसिरहेका अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए।

यीबाहेक अन्य अस्पतालमा पनि स्वास्थ्यकर्मी संक्रमित हुन सक्ने हुँदा यो तथ्यांक बढ्न पनि सक्छ। स्वास्थ्य कार्यालय चितवनले भने हाललाई कुन अस्पतालमा कति स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भयो भन्नुभन्दा पनि आइसोलेसन र अक्सिजन कसरी सहज बनाउने भन्ने विषयमा ध्यान दिइएको बताएको छ। ‘हाललाई संक्रमितलाई कसरी सहज उपचार गर्ने भन्नेमा ध्यान केन्द्रित हुँदा जिल्लामा दैनिक देखिने कुल संख्या बाहेक कुन विधातर्फका कतिलाई संक्रमण भयो भन्ने विषयमा ध्यान गएको छैन,’ स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले भनिन्, ‘स्थानीय तहलाई तथ्यांक राख्नू भनेर भनिसकेको हुँदा उनीहरुले राख्ला।’

सुरक्षा निकायमा एक जना
चितवनको सुरक्षा निकायमा भने संक्रमणबाट प्रभावित छैन। हालको अवस्थामा चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी मात्रै संक्रमित एक्लो प्रहरी हुन्। उनको अवस्था सामान्य रहेको र कार्यालयको क्वाटरमा स्वास्थ्यलाभ गरिरहेका कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया