बुटवल : अविश्वासको प्रस्ताव छलेर मुख्यमन्त्रीको सपथ लिएका एमाले नेता शंकर पोखरेलप्रति भक्तिभाव र चाकडी देखाएर विपक्षी दलका महिला सांसदहरूमाथि अभद्र व्यवहार गर्ने लुम्बिनी प्रदेशका प्रमुख (डीआईजी) रविन्द्र धानुकलाई कारबाहीको माग गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) महिला सांसदहरूले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर डीआईजी धानुकलाई कारबाही गर्न माग गरेका हुन् ।

शंकर पोखरेलको सपथ रोक्न धर्नामा बसेका महिला सांसदले आफूमाथि हातपात भएको भन्दै त्यसविरुद्ध कानूनी उपचार खोज्ने बताएका छन् ।

उनीहरूले प्रदेश प्रमुखकै कार्यालय परिसरमा महिला सांसदमाथि धरपकड र प्रहरी दमन भएकाले त्यसविरुद्ध कानूनी उपचार खोज्न लागेको बताएका छन् ।

प्रदेश प्रमुख सपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयमा निस्कन खोज्दा रोक्ने क्रममा लुम्बिनी प्रदेश प्रमुख डीआईजी धानुकले महिला सांसदहरूलाई हातपात गरेको महिला सांसदहरूले आरोप लगाएका छन् ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘सांसदमाथि हातपात गर्ने प्रहरीले नागरिकमाथि कस्तो दमन गरेका होलान् रु हामी चुप बस्दैनौं । घटनाविरुद्ध कानूनी उपचार खोज्छौं ।’

कांग्रेस सचेतक निर्मला क्षत्रीसहित प्रदेशसभाका सांसदहरू लौटी थारु, पुष्पा थरुनी, सुष्मा यादव, गीता थापा र पुर्मती ढेंगा मगर र दीपेश थारुमाथि प्रहरीद्वारा हातपात भएको दाबी छ ।

माओवादी केन्द्रकी सचेतक पार्वती पुन गहतराज, जसपाकी सचेतक पुर्मती ढेंगा मगर र राजमोका नेतृ तारा जिसीले संयुक्त विज्ञप्ति जारी गरेर घटनाको भर्त्सना गरेका छन् ।

उनीहरूले दोषीमाथि तत्काल छानबिन गरी कारबाहीको मागसमेत गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथप्रसाद साहलाई बाहिर निस्कन रोक्ने क्रममा प्रदेश प्रमुखको कार्यालयमा धकेलाधकेल भएको थियो ।

डीआईजी धानुक सत्तारुढ एमालेप्रति बफादार बनेको कांग्रेस सांसद क्षेत्रीले आरोप लगाएकी छिन् । उनले सुरक्षाकर्मी कुनै पनि दल र व्यक्ति विशेषमाथि वफादार हुन नहुने बताएकी छिन् । क्षेत्रीले सत्ताको आडमा विपक्षीहरूमाथि दुरव्यवहार गर्ने प्रहरी डीआईजीलाई कांग्रेसको सत्ता आयो भने हिसाब किताब मागिने चेतावनी दिएकी छिन् ।

डीआईजी धानुक लम्बिनी प्रदेशमा सरुवा भएर गएदेखि नै एमालेप्रति नरम व्यवहार गर्दै आएका थिए । धानुकले एमालेभन्दा अन्य दलका नेता कार्यकर्तालाई दुःख दिँदै आएको आरोप छ ।

धानुक लुम्बिनीमा सरुवा भएर गएदेखि तस्करी बढेको रिपोर्ट प्रहरी मुख्यालय नक्सालसम्म पुगेको छ । नवलपरासी, रुपन्देही, बाँके लगायतका नाकाबाट तस्करी मौलाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया