मनहरी : मकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीमा अतिक्रमित जग्गाबाट बस्ती हटाएर सुन्दर ‘पिस पार्क’ निर्माण भएको छ ।

सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहको अगुवाईमा बनेको पिस पार्क यतिखेर मकवानपुरकै प्रमुख आकर्षक गन्तब्यको रुपमा विकास हुँदै गइरहेको छ । अतिक्रमित ३ वटा घर र खेती भइरहेको जग्गा हटाएर चार बर्षअघि पिस पार्क निर्माण थालिएको हो ।

कूल ५ हेक्टर जग्गा समेटेर निर्माण थालिएको पिसपार्कको दक्षिणतर्फ रहेको टासी छोइलिङ गुम्बा र पूर्वतर्फ रहेको ऋषेश्वर महादेव मन्दिर पनि सब कम्पार्टमेन्टको रुपमा जोडिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

मनहरी गाउँपालिका, बागमती प्रदेश सरकार, राष्ट्रपति चुरे मधेश संरक्षण कार्यक्रम, सांसद विकास कोष लगायतका क्षेत्रबाट लगानी गरी निर्माण गरिएको पिसपार्कमा आकर्षक डिजाइनका पार्क, बुद्धको मुर्ति, व्यवस्थित प्रतिक्षालय, शौचालय, ध्यान केन्द्र लगायतका भौतिक संरचना निर्माण भइसकेका छन् ।

ढुंगा चलाउने लक्ष्यसहितको पोखरी पनि निर्माणाधीन अबस्थामा रहेको सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण उप्रेतीले बताउनुभयो ।

‘तीन बर्षपहिले अतिक्रमित जग्गामा केही घरहरु बनेका थिए भने जग्गामा विभिन्न वेवारिसे क्रियाकलापहरु हुने गर्थे’, समूहका अध्यक्ष उप्रेती भन्नुहुन्छ–‘हामी सबैको प्रयासबाट अहिले शानदार पार्क बनाउन सफल भएका छौँ । पार्क निर्माण, डिजाइन र व्यवस्थापनको काम ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गरिरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया