चितवन  : यस भन्दा पहिला माडीको बिषयमा दुई खण्डमा मेरा बिचारहरु संप्रेषण गरेको छु । पुनः माडीका बिषयमा बिभिन्न कोणबाट चर्चा परिचर्चाहरु चलिरहेको परिप्रेक्ष्यमा पुनः कलम चलाउने जमर्को गरेको छु । खासगरीकन माडी उपत्यकाको मुख्य समस्या भनिएको मानव-वन्यजन्तु द्वन्द र निकुञ्जबाट भएको सम्बोधन भएका बिषय, माडीको भौतिक एवं पर्यापर्टनको बिकास सम्बन्धमा यो खण्डमा चर्चा गर्ने प्रयास गरेको छु ।

चितवन राष्ट्रिय निकुञ्ज नेपाललाई संसारमा परिचित गराउने एक महत्वपूर्ण सम्पदा हो । एकसिंगे गैंडा, पाटे बाघ, एसियन हात्ती, घडियाल गोही,डल्फिन, खरमयुर, हिसपिड खरायो जस्ता संकटापन्न सूचीमा रहेका वन्यजन्तुको प्राकृतिक वासस्थानका रुपमा रहेको निकुञ्जको आफ्नै महत्व र महिमा छ । स्वभाविक रुपमा संरक्षित क्षेत्र वरीपरि कुनै न कुनै रुपमा वन्यजन्तुबाट क्षति पुगेकै हुन्छ । यस्ता क्षति न्युनिकरणका लागि नेपाल सरकारले आफ्नै स्रोत र बिभिन्न  दातृ सस्थाहरुसंगको सहकार्यमा अनेकौं प्रयास पनि गर्दै आएको छ । माडी क्षेत्रमा पनि नेपाल सरकार एवं निकुञ्जका तर्फबाट वन्यजन्तुका कारण हुने क्षति तथा नोक्सानी रोकथाम एवं नियन्त्रणका लागि बिभिन्न प्रयास हुँदै आएका छन । यो बिषयलाई पनि समेट्ने प्रयास गरेको छु ।

  • वन्यजन्तु नियन्त्रणका लागि विद्युतीय तारबार निर्माणः

गैंडा र हात्ती जस्ता ठुला वन्यजन्तुहरुले तारजाली सजिलै भत्काउन सक्ने हुंदा विजुलीबाट प्राप्त हुने डाईरेक्ट करेन्टलाई मेसिनमबाट परिवर्तन गरि एसी करेन्ट बनाई वन क्षेत्र र आवादीको बीचमा ग्यावियन प्लेन तारमा उक्त करेन्ट पठाउने व्यवस्था गर्दा उक्त तारमा छोएमा वन्यजन्तुलाई झड्का दिने तर नमर्ने हुन्छ । एक पटक झड्का खाए पछि वन्यजन्तु तर्सिन्छ र फेरी तार देखेमा सो तर्फ नआई फर्कने गर्दछ । यसबाट गैंडाको आवादी प्रवेश पूर्णरुपमा बन्द भएको छ । तर हात्ती बुद्धिमानी वन्यजन्तु भएकोले विभिन्न उपायहरु प्रयोग गरी (तारले नछोएको पोलको भागमा खुट्टाले कुल्चेर पोल ढलाएर आवादी तर्फ आउने, सुकेको काठ ल्याई तारलाई हानेर चुडाउने ) आदि उपाय लगाएर तारबार निस्प्रभावि बनाई आवादी तर्फ आउने गरेको पनि पाईन्छ ।

यो भन्दा पनि खतरा मानवीय कृयाकलाप देखिन्छ । किनभने उक्त तारलाई छोएको लहरा घांस बेलामा नहटाउने, चुडिएको ठाउंमा बेलामा मरमत नगर्ने, मेसिन संचालनमा आए नआएको नहेर्ने, सोलारबाट र विजुलीबाट चार्ज गर्नको लागि राखिएको व्याट्रीका एसिड वा डिस्टील वाटर समयमा नथप्ने, वन्यजन्तुले र वाढीले पल्टाएका पोल समयमा मरमत नगर्ने र निकुञ्ज भीत्र अनिमित चरिचरण र चोरी निकासीको लागि स्वयंम उपभोक्त आंफैले तार काट्ने गरेको पाईएको छ । जव यि माथी उल्लेख भएको कुनै पनि कार्यबाट विद्युत प्रबाह हुंदैन फलस्वरुप वन्यजन्तु आवादीमा जान रोकिंदैन र नोक्सानी र दुर्घटना स्वभाविक वन्न पुग्दछ । हात्ती रोकथामका लागि संसारकै भरपर्दो मानिएको बिद्युतिय तारबारको उचित प्रयोग नहुँदा कतिपय स्थानमा धेरै धनरासी खर्च गरेर निर्माण गरिएको तारबार क्षतबिक्षत अवस्थामा रहेको छ । जसका कारण वन्यजन्तु निर्वाध रुपमा गाउँ बस्तिमा पस्ने समस्या रहेको छ ।

  • वन्यजन्तु नियन्त्रणका लागि डि.पि.सिपर्खाल र त्यस माथी मेस जाली लगाउने कामः

बंदेल खेतिवाली नोक्सानी गर्ने प्रमुख वन्यजन्तु हो । यसले एकै पटक १८ वटा सम्म वच्चा जन्माउने र जन्मेका बच्चाले १ बर्षमा नै बच्चा जम्माउन सक्ने अवस्थामा पुग्दछ र संख्या धेरै हुन्छ । बंदेल खेतीमा पल्के पछि रातको समयमा पटक पटक  उक्त खेती खानको लागि जाने  गरेको पाईन्छ । बंदेल कांडेतारबाट सजिलै छिर्ने र मेसजाली पनि प्वाल पारेर छिर्ने भएकोले यसलाई नियन्त्रणको लागि एक मात्र उपाय कम्तीमा जमिन मुनी एक फिट र जमिन माथी तीन फिटको पर्खाल भएमा यो जान सक्दैन ।

यसैलाई मध्यजनगर गरि चितवनको अधिकांस मध्यवर्ती क्षेत्रमा जमिनमा डि.पि.सि पर्खाल गलाउने गरिएको छ र यसले बंदेल नियन्त्रण पनि भएको छ । मृग प्रजाति ५—६ फिट उचाईसम्म सजिलै उफ्रिएर जाने भएकोले सोही डि.पि.सि वाल माथी अर्को ५ फिट अग्लो मेस जाली गलाउंदा मृग प्रजाति पनि रोकिएको छ । दुर्भाग्य रुख लडेर, बर्षातको पानीले भत्काएको स्थानमा विग्रेको वाल र मेसजाली समयमा मरमत नहुने र उपभोक्त आंफैले चोरी निकासी गर्नको लागि तारबार काट्ने र भत्काउने गर्दा सो स्थानबाट सजिलै वन्यजन्तु बाहिर आउने गरको पाईन्छ ।

  • वन्यजन्तुबाट भएको क्षति बापत राहत सहयोग उपलब्धः

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा पश्चात माडीमा अवस्थित तत्कालिन गा.वि.स.हरु क्रमशः गर्दी, बघौडा, कल्याणपुर, अयोध्यापुरी (सोही अनुसार नामाकरण भएका मध्यवर्ती उपभोक्ता समितिहरु क्रमशः पांचपाण्डब, बघौडा, रेवा, अयोध्यापुरी) मा वन्यजन्तुबाट भएको क्षति र सो वापत मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र नेपाल सरकारबाट राहत उपलब्ध गराउने काम पनि हुँदै आएको छ । सो कुरा वन्यजन्तुबाट माडीमा भएको मानव, पशु चौपाय र खेतीवाली नोक्सानीको संख्या र उपलव्ध गराईएको राहत आर्थिक बर्ष अनुसार तल प्रस्तुत गरिएको तथ्याङ्कबाट पनि प्रष्ट हुन्छ ।

श्रोत  चितवन राष्ट्रिय निकुञ्ज कार्यालय

सामुदायीक बिकासका लागि रकम उपलब्धः

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अधिकांस क्षेत्र चितवन जिल्ला, दोस्रोमा नवलपरासी र थोरै क्षेत्र पर्सा एवं मकवानपुर जिल्लामा पर्दछ । मध्यवर्ती क्षेत्र स्थापना गर्दा चार वटै जिल्लामा गरी तत्कालीन ३७ वटा गा.वि.स. का पुरै एवं आंसिक भाग समेटिएको थियो । मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली बढीमा २१ वटा सम्म उपभोक्ता समिति बनाउन पाईने व्यवस्था छ । सोही कारणबाट ३७ वटा गा.वि.स.लाई २१ वटा उपभोक्ता समिति बनाउनु पर्ने अवस्था आयो । यसरी घटाउंदा कहि ३ वटा गा.वि.स.को क्षेत्र, कहि २ वटा गा.वि.स.को क्षेत्र र कहि १ वटा गा.वि.स को क्षेत्र लाई मिलाएर उपभोक्ता समिति बनाईएको थियो ।

क्षेत्रफल, जनसंख्या,भौगोलिक बनोट र वन्यजन्तुको प्रभावलाई मध्यनजर गरी उपभोक्ता समिति निर्माण गरिएको थियो । माडीमा अयोध्यापुरी, कल्याणपुर र गर्दी गरी ३ वटा उपभोक्ता समिति बनाउने र बघौडालाई गर्दी र कल्याणपुरमा समावेश गर्ने गरी योजना   बनेकोमा बघौडाले समावेश हुन नमानेको र यसको समाधानको लागि राष्ट्रिय निकुञ्ज विभागसम्म पुगेकोले तत्कालको लागि उप—समिति बनाउने राय सल्लाह बमोजिम बघौडा उपभोक्ता उप—समितिको रुपमा गठन भई संचालनमा रहेको थियो र हालसम्म पनि उप—समितिकै रुपमा रहेको छ ।

उप समितिले मध्यवर्ती व्यवस्थापन समितिमा अध्यक्ष पदमा उमेदवारी दिन र मतदान गर्न नपाउने भएता पनि सो कुरालाई स्वीकार गरेर संचालनमा रहेको छ भने बार्षिक रुपमा निकुञ्जले आम्दानी गरेको राजश्वको   ५० प्रतिशत रकम उपभोक्ता समितिको आफ्नो क्षेत्रमा खर्च गर्न पाउने रकम माडीका अरु समितिले पाउने सरह नै पाई राखेको छ । (जनसंख्या, वन्यजन्तुको प्रभाव र भौगोलिक बनोटको आधारमा उपभोक्ता समितिलाई क,ख,ग गरि बर्गीकरण गरिएको छ । बर्गीकरण अनुसार क,ख,ग को आधारमा क्रमश वढी, मध्यम र कम रकम जाने गरेको छ ) माडीका ३ वटा उपभोक्ता समिति क श्रेणीमा परेकोले बघौडाले पनि अरुले सरह नै रकम लैजाने गरेको छ ।

मध्यवर्ती क्षेत्र घोषणा भेसकेपछि निकुञ्जले गरेको आम्दानीको निश्चित प्रतिसत रकम स्थानीय जनताको सामुदायीक बिकासमा खर्च गर्नका लागि उपलब्ध गराउने कानूनी ब्यवस्था भएकोले आर्थीक बर्ष २०५२-०५३ देखि नै निकुञ्जले माडी क्षेत्रका उपभोक्ता समिति मार्फत सामुदायीक बिकास र नदी कटान बापत क्षतिपूर्ती रकम समेत उपलब्ध गराउदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भए पश्चात साबिक अयोध्यापुरी, कल्याणपुर,बघौडा र गर्दी गा.वि.स. (क्रमशः अयोध्यापुरी, रेवा, बघौडा, पांचपाण्डव उपभोक्ता समिति) लाई आ.ब. २०७६-०७७ सम्म चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट निम्न बिवरण अनुसार रु. १२,४९,६००००। उपलब्ध गराएको देखिन्छ ।

  • नदीकटानमा परेको जग्गाको क्षतिपूर्ती रकम प्रदानः

चितवन राष्ट्रिय निकुञ्जले नदी कटानका कारण नीजि नंबरी जग्गा गुमाएका माडीका जनताका लागि बिभिन्न आर्थिक बर्षमा गरी      निम्न बिवरण अनुसार रु. ५६,९८,२५०। क्षतिपूर्ती बापत रकम उपलब्ध गराएको छ ।

श्रोतः चितवन राष्ट्रिय निकुञ्ज कार्यालय

  • आय आर्जन अभिबृद्दिका सम्भावनाहरुः
  • कृषि र माछापालन

पहाडबाट बसाई सराई गर्दा देखि नै रोजाईमा रहेको माडी अन्नको भण्डार हो । यहां धान,मकै, गहुं, तोरी, लगायतका उष्ण हावापानीमा हुने सबै प्रकारका वाली फलफूल सबै हुन्छ । बर्षमा ३ खेतीसम्म गर्न सकिन्छ । बर्षादको समयका धेरै जसो खोलामा पानी हुने भएकोले करिब ९० प्रतिशत भन्दा बढी जग्गामा धान खेती गर्न सकिन्छ भने, हिउंदमा खोलाहरु सुक्ने भएकोले रिउखोला र केही मुख्य खोलाको मुहानबाट ल्याएको पानीले खेती लगाउनु पर्ने हुन्छ तर पर्याप्त हुदैन ।

त्यसैले भूमीगत सिंचाई (बोरिङ,ईनार) बाट पानीको व्यवस्था मिलाउनु पर्ने हुन्छ । हाल अयोध्यापुरी र कल्याणपुरको उत्तरी सिमाना रिउखोलाको छेउमा लहरै माछा पोखरी बनाई माछा पालन गरेर किसानहरुले लाभ लिई रहेको अवस्था  छ । रिउखोलाको बाढी पसेर धान लगायतका वाली नोक्सान गर्ने स्थानमा पोखरी खनेर खोला बग्ने भागतिर डिल बनाउंदा बाढी पस्न रोकिने, उक्त डिलमा विद्युीय तारबार र मेसजाली लगाउंदा वन्यजन्तु सजिलै आवादीमा पस्न नपाउंदा वाढीवाट खेर गईरहेको जग्गामा माछा पालन र सो भन्दा भित्रको जग्गामा लगाईएको बाली वन्यजन्तुबाट नोक्सानी हुन नपाउंदा किसानहरुले मेहनतको फल लिन पाई रहेका छन ।

त्यसरी छेउको भागमा पोखरी बनाई माछा पालन गर्ने कार्यको विस्तार बघौडा र गर्दीले पनि गरेमा सबै खालको फाईदा लिन सकिने अवस्था रहेको छ । बघौडा गर्दी तर्फ आईपुग्दा सबै खोलानालाको पानी एकत्रित भई बग्दा बर्षादमा डुबान र बगाउने अबस्था भएकोले रिउखोला र दक्षिणबाट रिउखोलामा मिसिन आउने अन्यखोलाहरुको पनि एकिकृत रुपमा व्यवस्थापन गर्न गुरुयोजना बनाई सो अनुसारको कार्यलाई निरन्तरताई दिई सम्पन्न भए पश्चात बगाईदेखि पाण्डब नगरसम्म नम्बरी आबादी तर वाढीको कारणले उपयोग गर्न नसकिएका सबै जग्गाबाट अधिकतम उत्पादन लिन सकिने अबस्था छ ।

(२) पर्यापर्यटन प्रबर्ध्दन

नेपालमा खासगरी ३ प्रकारका पर्यटकीय गतिबिधिहरु हुने गरेको पाईएको छ ।  पहिलो, साहसिक पद यात्रा, हिमाल चढ्ने र घुम्ने, दोस्रो धार्मिक पर्यटन, धर्म संस्कृती, मन्दिर, गुम्बा, तिर्थस्थल आदि भ्रमण  र तेस्रो प्रकृति, वन, वन्यजन्तुमा आधारित पर्यापर्यटन । सो मध्ये माडीमा आउने पर्यटकहरुलाई हेर्न सक्ने २ वटा विषय छन ।

(२.१) धार्मिक पर्यटन

माडीमा प्राचिन कालमा द्धापर युगमा राम, लक्षमण, सीता वनवासको समयमा उपयोग गरिएका स्थान भएको विश्वास गरिएको छ । पाण्डव नगर (रिउखोलाको दक्षिण र पांचपाण्डव पश्चिम केहि उच्च भाग जहां निकुञ्जको क्षेत्र पर्दछ ) मा पुरानो ईनार केही भगनावशेष रहेको छ । सो स्थान भन्दा दक्षिण द्रौपती नगरबाट पश्चिम निकुञ्ज भित्र करिव पौने घण्टाको दुरीमा परसुराम कुण्ड रहेको छ । उक्त कुण्डमा चैत्र शुक्लपक्षमा नुहाउन जाने र निकुञ्ज बाहिर द्रौपतिनगरमा रात वस्ने र मेला लाग्ने चलन अहिले पनि छ ।

अयोध्यापुरीमा सोमेश्वर पहाडको फेदीमा बैकुण्ठ ताल रहेको छ भने सोमेश्वरको टुप्पो जहां नेपाल भारतको सिमाना नजिक छ ऐतिहासिक मन्दिर रहेको छ । बालमिकी आश्रम राजनितिक सिमानाको हिसावल माडीमा पर्दछ तर यो नवलपुरको त्रिवेणीधाम भन्दा दक्षिण पूर्ब नारायणी नदी तरेर करीब एक घण्टाको पैदल यात्रमा रहेको छ ।  यस लगायतका पहिचान हुन बांकी पनि रहेको भनि संचार माध्यममा आएको र वास्तविक अयोध्या भारतमा नभई नेपालको माडी अयोध्यापुर र सम्पूर्ण माडी ठोरी क्षेत्रमा हो भनि हाल संचार माध्ययमबाट समय समयमा आउने गरेको पनि छ । यसको अध्ययन पछि मात्र यकिन भन्न सकिने अवस्था आउन सक्छ ।

(२.२) प्रकृतिमा आधारित पर्यटनः

विश्व सम्पादा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थानको रुपमा रहेको छ । हालसम्म आउने पर्यटकहरु क्रमशः सौराहा, कसरा, अमलटारीमा मेघौलीमा जाने गरेका छन र उक्त स्थानमा सोही अनुसारको भौतिक संरचना र मानवीय श्रोत रहेको छ भने सौराहा, कसरा, मेघौलीमा आउने केही पर्यटक माडी पनि हेर्न ईच्छा जाहेर गरेमा जाने गरेका छन । माडीमा ३—४ बर्षदेखि होमस्टेको विकास गरि संचालनमा आए संगै आन्तरिक पर्यटकहरुको बृद्धि भएको छ भने विदेशी पाहुना पनि जान बस्न सक्ने अबस्था सृजना भएको छ तर प्रयाप्त संरचना र जनशक्तीको विकास हुन बांकी नै देखिन्छ । प्रकृतिमा आधारित पर्यटन विकास गर्ने हो भने माडीमा तपसिल बमोजिमका कार्य गरेमा राम्रो हुने देखिन्छ ।

  • ध्र्रुब—बनकट्टा निकुञ्जको क्षेत्र भित्र ओभरहेड र अण्डरग्राउण्ड बाटो निर्माण । ध्रुब—बनकट्टा अण्डरग्राउण्ड र ओभरहेड पुल बन्नासाथ निकुञ्जमा पुलबाट वन्यजन्तु हेर्न पाईने अवशर र सो को बनोट हेर्न कै लागि पनि प्रशस्त पर्यटकहरु माडीमा आउने र पर्यटकीय गतिबिधिका कारण माडीबासीको जीवन स्तरमा कायापलट हुने सम्भावना छन ।
  • रिउखोला भन्दा उत्तरमा रहेका अमिलिया र सिमरा वस्तीलाई स्थानान्तर वा रिउखोला डाईभर्सन गरेर उक्त वस्तीभन्दा उत्तरबाट बग्ने व्यवस्था मिलाउने र बगाई देखि पाण्डबनगरसम्म रिउखोलाको दक्षिणमा उच्चस्तरीय हाई ड्याम बनाई सोही ड्यामबाट हुलाकी बाटोको निर्माण र सोही ड्यामको उत्तरी किनारामा वन्यजन्तु आवादी तर्फ आउन रोकिने डि.पि.सि.सहितको मेसजाली र विद्युतीय तारवार निर्माण ।
  • पर्यटकहरु निकुञ्ज प्रवेशको लागि सबैलाई पायक पर्ने बोटे सिमरालाई प्रवेशद्धारको रुपमा बिकास गर्ने ।
  • सोमेश्वर पहाड तर्फ पद यात्राको लागि विभिन्न सम्भावित स्थानमा पैदल मार्ग निर्माण ।
  • भौतिक पूर्वाधार (होटल,रिसोर्ट,लज, रेष्टुरेन्ट) र दक्ष जनशक्तीको विकास ।
  • राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार ।
  • ठोरी नाकाबाट पनि भारतीय लगायत विदेशीहरु आउन सक्ने व्यवस्था ।
  • अन्त्यमाः

माडीलाई मणी बनाउन संरक्षण र बिकासलाई एउटै गतिमा संगसंगै अगाडी बढाइनु पर्दछ । माडी दुरीका हिसाबले धेरै टाढा नभएता पनि सदरमुकाम र माडीको वीचमा चितवन राट्रिय निकुञ्ज पर्ने भएकोले  चितवनको दुर्गम क्षेत्र मानएको छ । आम्दानीको श्रोत राम्रो भएका र वचत गर्ने मानिसहरुले आफ्नो र सन्तानको भविश्य सुनिश्चत गर्ने कुरालाई ध्यानमा राखी सदरमुकाम र आसपासमा घडेरी किनी घर बनाएका छन भने कतिका घर बनाउन बांकी होला ।

यसरी घडेरी किन्नेमा माडीका ५० प्रतिशत भन्दा वढी मानिसहरु पर्दछन । अगुवा र चलाख मानिसहरुले आफ्ना छोराछोरी पढाउन र आंफू पनि सुविधा क्षेत्रमा वस्नको लागि सदरमुकाम र आसपासमा घरको व्यवस्था मिलाई आंफू पनि दुबै तिर बस्ने गरेको पाईन्छ भने घर घडेरीको व्यवस्था मिलाउने कार्य निरन्तर चलि नै रहेको छ । यो कार्य आदिवासीहरुले कम गरेको पाईन्छ । केही मानिस त धेरै समय सदरमुकाममा नै बस्ने कहिले कांही जाने र राजनिति गर्न मात्र जाने गरेको पाईन्छ ।

त्यस्ता मानिसहरुलाई आफ्नो सन्तान र आंफूलाई खासै असर नपर्ने भएकोले माडीमा बस्ने गरीब सिमान्तकृत मानिसहरुको नाममा राजनिति गर्ने र स—साना विषयलाई पनि ठुलो बनाउने तरङ्गीत बनाउने र आंफूले जनताको लागि काम गरेको भनि देखाउने प्रयास गर्ने गरेको देखिन्छ । कतिपय मानिसहरु ऐन नियममा व्यवस्था नभएका कुराको सुविधा पनि  पाउनु पर्छ भनि अनर्गल माग राखि द्धन्द चर्काउने काममा केन्द्रित रहेको पाईन्छ । सर्बसाधरण मानिसहरुलाई बिभिन्न भ्रममा पारी निकुञ्जसंगको सम्वन्ध सुमधुर बनाउने काममा भाँजो हाल्ने गरेको पनि देखिन्छ । तर निकुञ्जमा भएका कानूनी ब्यवस्थाका कारण जनतामा पर्न गएका अप्ठ्याराहरु हटाएर सरलिकरण गर्ने तर्फ खासै कुनै राजनीतिक पार्टी, नेता र जनप्रतिनिधिले भूमिका निर्वाह गरेको देखिंदैन ।

अतः माडीवासी जनसमुदायको समग्र बिकास र समृद्दिका लागि अमुक राष्ट्रिय निकुञ्ज र निकुञ्ज सम्बन्धी कानूनलाई गाली गरेर मात्र हुँदैन । यदि कानूनमा भएको ब्यवस्था बाधक हो भने कानून परिमार्जन गर्ने वा नया कानून निर्माण गरेर जनताको भलो हुने काम गर्न सक्नु नै आजको आवश्यक्ता हो । तसर्थ अझै पनि सुझबुझ एवं बुद्धिमत्तापूर्ण तरीकाले समन्वयातमक रुपमा निकुञ्जको संरक्षण र माडीबासीको हितलाई संसंगै अगाडी बढाउन सकिएमा माडीलाई मणी बनाउन सकिने प्रशस्त सम्भावना छन । यसरी नै अगाडी बढ्दा सबैको कल्याण हुन्छ भन्ने विश्वास लिन सकिन्छ ।

(लेखक चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत एवं स्थानीय वासिन्दा हुन)

तपाईको प्रतिक्रिया