काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली माओवादीका पूर्व लडाकुहरूप्रति पछिल्ला दिनमा अतिरिक्त सहानुभूति दर्शाइरहेका छन् । विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसलाई ‘नाटक’ को संज्ञा दिएको छ ।

ओलीकै रणनीतिअनुसार मन्त्रिपरिषदले माओवादीका अयोग्य लडाकुहरूलाई परिचयपत्र वितरण गर्ने निर्णय लियो । यस विषयमा अयोग्य लडाकुको संगठनसँग सरकारले संवाद पनि थालिसकेको छ । परिचयपत्रमार्फत दिने सहुलियत र सुविधाबारे भने सरकारले निर्णय लिइसकेको छैन ।

माओवादी जनयुद्धमा समावेश भएर पछि विभिन्न पार्टी चहार्दै हाल स्वतन्त्र विश्लेषकका रूपमा चिनिएका मुमाराम खनाल पूर्वलडाकुप्रति प्रधानमन्त्रीले देखाएको मोहलाई अस्वाभाविक मान्छन् । आगामी चुनावलाई लक्षित गर्दै ओलीले आफूलाई थप शक्तिशाली बनाउन यो रणनीति अख्तियार गरेको उनको विश्लेषण छ ।

‘उहाँ हरतरहले शक्तिशाली बन्न खोजिरहनुभएको छ’ खनाल भन्छन्, ‘पूर्वलडाकुलाई हातमा लिंदा चुनावमा काम लाग्न सक्छन् भन्ने उहाँको बुझाइ होला ।’

खनालको थप भनाइ जस्ताको तस्तैः

प्रधानमन्त्री ओलीले अहिले पूर्वलडाकुमाथि जुन किसिमको अतिरिक्त मोह देखाइरहनुभएको छ, त्यसका विभिन्न आयाम छन् । पहिलो त, उहाँ अहिले पूर्वलडाकु मात्र नभएर आपराधिक मनोवृत्तिका वा विभिन्न अपराधमा मुछिएका मान्छेलाई पार्टीमा भित्र्याउन लालायित देखिनुभएको छ ।

तपाईं प्रभु शाहको उदाहरण लिन सक्नुहुन्छ । उनी अपराधमा मुछिएका व्यक्ति हुन् । बालकृष्ण ढुंगेल भन्नुस् । उनलाई सबैभन्दा बढी उहाँहरूले नै खेद्नुभएको थियो । फरार अभियुक्त कालीबहादुर खाम अहिले बालुवाटारमा घुमिरहेका छन् ।

लडाकुसँग आत्मीयता बढाउन खोज्नुको मुख्य कारण चाहिं मेरो विचारमा अतिरिक्त राजनीतिक शक्ति आर्जन गर्ने अभिलासा हो । भोलि कुनै बेला चुनाव त हुन्छ नै । त्यसमा यस्ता लडाकुहरू काम आउँछन् भन्ने एउटा बुझाइ उहाँको हुनुपर्छ । यस्ता युवाहरू चुनावमा धेरैभन्दा धेरै खट्न सक्छन् । परिआउँदा लडभिड गर्न पनि सक्छन् । त्यो एउटा फाइदा भयो ।

अर्को चाहिं प्रचण्डलाई ‘डिस्क्रेडिट’ गर्नका लागि यो रणनीति काम लाग्छ । लडाकुप्रति माओवादी नेताको भन्दा म धेरै संवेदनशील छु भन्ने देखाउन खोजिरहनुभएको छ । आफूले युद्धमा होमेर पछि अलपत्र परेका मानिसहरूलाई अहिले ओलीले संरक्षण गर्न खोजेको सन्देश जाँदा पक्कै पनि प्रचण्डलाई एकप्रकारको प्रेसर हुन्छ नै । उहाँले त्यो प्रेसर फिल पनि गर्नुभएको छ । प्रचण्डका भाषणमा पनि त्यो देखिन्छ ।

अब, तेस्रो कारण भनेको ओलीले आफूतिर आएका केही पूर्वमाओवादी नेताहरूलाई खुशी पार्न खोज्नुभएको होला । ती नेतालाई लडाकुहरू भयंकर राजनीतिक पूँजी हुन् भन्ने लागेको छ । त्यो कुरा उनीहरूले ओलीलाई सुनाएका होलान् । त्यही बमोजिम ओलीले माओवादीका मान्छेहरू प्रचण्डतिर नलागुन् भन्नका लागि यो रणनीति अख्तियार गर्नुभयो होला ।

०००

केपी ओली हिजो माओवादीको कट्टर आलोचक हुनुहुन्थ्यो । आज उहाँ त्योभन्दा विपरीत ठाउँमा आइपुग्नुभएको छ । प्रचण्डको विरोधी जमात धेरैभन्दा धेरै बनाउने अभीष्ट उहाँमा अहिले देखिन्छ । किनकि ओलीलाई सबैभन्दा बढी समस्या आखिर प्रचण्डबाटै छ ।

ओली पूर्व एमालेको आधिकारिकता आफूसँग रहेको मान्नुहुन्छ । मदन भण्डारीको जबजको पेटेन्ट राइट दाबी गर्नुहुन्छ । गत निर्वाचनमा स्थानीय, प्रदेश र संघ सबैतिर आफ्नो राष्ट्रवादी छविका कारणले जितेको हो भन्ने उहाँलाई परेको छ । प्रचण्डको चाहिं लडाकु र जनयुद्धको नेतृत्वकर्ताको छवि हो । त्यो छविलाई पनि निस्तेज बनाउन पाए, र त्यसको पनि स्वामित्व लिएँ भने भोलि सबैभन्दा शक्तिशाली मै हुँ भन्ने ओलीलाई लागेको छ ।

हिजो माओवादीले वाईसीएलको बलमा चुनाव जितेको आरोप लागेको थियो । त्यसैले वाईसीएललाई काउन्टर दिन एमालेले प्ररायुसंघ हुँदाहुँदै युथ फोर्स बनायो । त्यो ओलीजीको आइडिया हो । उहाँ राजनीतिमा दबंग मान्छे चाहिन्छ भन्ने मानिस हो । अलिअलि गुण्डागर्दीको पक्षपाती पनि हो । पूर्वलडाकु र युथफोर्सको बलमा चुनाव लड्ने योजना उहाँमा देखिन्छ ।

०००

माओवादीले सशस्त्रयुद्धमा धेरैजसो ‘सोसल मिसफिट’ मान्छेलाई भर्ती गरेको थियो । ‘सोसल मिसफिट’ भन्नाले समाजमा विभिन्न ढंगले बदनाम भएका मान्छेहरू । कुखुरा चोरदेखि जुवाडेहरूसम्म माओवादीमा सामेल भएर बन्दूक बोके । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि त्यो जमात अझै समाजमा पुनस्र्थापित हुनसकेको छैन । शान्ति प्रक्रियापछि पनि माओवादीले संख्या बढाउनका लागि धेरै संख्यामा भर्ती गरेको हो । ती लडाकुहरू एकप्रकारले भन्ने हो भने प्रचण्डको निजी शक्ति आर्जन गर्न प्रयोग भए । प्रचण्ड यो खालको संसदीय व्यवस्थामा आउँदा ती लडाकुलाई व्यवस्थापन गर्ने उनको हैसियत पनि भएन, रुचि पनि देखिएन ।

गिरिजाप्रसाद कोइरालाले पाँच हजार लडाकु एकैपटक समायोजन गरिदिन्छु, प्रमाणीकरण–श्रमाणीकरणतिर नलागौं भनेकै हुन् । तर, प्रचण्डले मानेनन् । वास्तविक लडाकुलाई बाहिर राखेर कथित विद्रोह गर्ने भन्दै नक्कली लडाकू खडा गरेर ३५ हजार पु¥याए । पछि अनमिनले २१ हजारमा झार्‍यो । अन्तिम प्रमाणीकरण गर्दा १२–१३ हजारको संख्यामा सीमित भए । हुँदा–हुँदा समायोजनमा जाँदा जम्मा ७०० जना नेपाली सेनामा समायोजन भए ।

३५ हजारबाट जम्मा ७०० जनाको समायोजन भयो । गिरिजाप्रसादको प्रस्ताव मानेको भए पाँच हजार समायोजन हुन्थे । वास्तविक लडाकु सबै पर्थे । तर, प्रचण्डले मानेनन् । त्यसैले प्रचण्डप्रति लडाकुमा त्यो आक्रोश छ । कस्तो नेता हो यो, २१ हजार मान्छे हाल्छु भनेर जम्मा ७०० हाल्ने भनेर उनीहरू असन्तुष्ट छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूर्व लडाकुहरुसँग भेटघाट गर्दै । फाइल तस्बिर

लडाकुको पैसामा भ्रष्टाचार भएको विषय पनि व्यापक छ । अहिले पनि कृष्णबहादुर महराको १८ करोड कि कति बेरुजु छ । यो भ्रष्टाचारमा माओवादी कमाण्डरको हैसियतले प्रचण्ड पनि उन्मुक्ति हुने ठाउँ छैन ।

०००

२०५७ सालमा माओवादीको लडाकु संगठन बनेको हो । म २०५८ पछि निस्किहालें । माओवादी जनयुद्धमा लडाकु भर्तीका लागि उमेरको क्राइटेरिया त थियो । तर, उमेर बढाएर धेरै जनसेना भर्ती गरिन्थ्यो ।

पार्टीमा लामो समय राजनीति गरेका पुराना मान्छेहरू पनि थिए । माओवादी नहुँदै शान्तिपूर्ण कालमा एकताकेन्द्र भन्ने ठूलो संगठन थियो । त्यसबाट अरू ठूला नेता चुनावमा नउठ्दा पनि ९ सिट जितेको हो । त्यतिबेलाका धेरैले लिडरसिप छाड्दै गए । कोही मारिए । आज सेनाले मार्छ, भोलि अर्को कमाण्डर हुन्छ । यस सिलसिलामा सोसल मिसफिट मान्छेहरू पनि भटाभट कमाण्डर हुन थाले । उनीहरूले नै जनसेनालाई व्यापक मिसयुज गर्न थाले । समाजलाई दुःख दिने त्यही तप्का हो ।

राज्यले समायोजनमा नजानेहरूलाई दुई चरणमा गरेर १०–१० लाख रुपैयाँ दिएकै थियो । २०६४÷६५ सालमा १० लाख भनेको ठूलै रकम हो । यो पैसाबाट कसैले के, कसैले के गरेर जीविकोपार्जन गरेका छन् । तिनीहरूको अवस्था ठीकै छ । गरिखाने भए भनेपछि समाजले पनि उनीहरूलाई स्वीकार ग¥यो ।

अयोग्य भनिएकाहरू धेरैजसो खाडी मुलुकतिर छन् । कालीबहादुर खामजस्ता व्यक्तिहरू आपराधिक क्रियाकलापतिर लागे । यस्ता लडाकुका विभिन्न खाले समूह छन् । उनीहरूले विभिन्न माग राखेर बेलाबखत आन्दोलन पनि गर्दै आएका थिए । तर, सुनुवाइ भएको थिएन ।

यो समूहलाई सम्बोधन गर्न आवश्यक त थियो । यत्तिकै डिरेल भएर गयो । अहिले सरकारले पहल गरेको छ । तर, यसलाई मैले सकारात्मक रूपमा लिन चाहिं सक्दिनँ । जतिबेला पार्टी फुटेको छ, संसद विघटन भएको छ । यो सही समय होइन । मूल कुरा गैरसंवैधानिक र गैरकानूनी काम प्रधानमन्त्रीले गर्नुभएको छ । संसदको घाँटी निमोठ्नुभएको छ । पार्टीको आन्तरिक शक्ति–संघर्षमा अतिरिक्त शक्ति आर्जन गर्ने प्रधानमन्त्रीको कुत्सित मनसाय यसमा देखिन्छ ।

माओवादी लडाकुलाई राजनीतिक दाउपेचको विषय बनाइएको छ । हिजो यो विषयलाई सबैभन्दा बढी विरोध गर्ने मान्छे आज किन उठाइरहनुभएको छ ? यसमा गलत नियत देखिन्छ । बरु माधव नेपाल, झलनाथहरूले पूर्वलडाकुहरूप्रति सहानुभूति देखाउन सुहाउँछ, ओलीले सुहाउँदैन ।

ओलीले शक्ति आर्जन गर्नका लागि जस्तोसुकै टुल्स पनि युज गर्नुहुन्छ । माधव नेपाललाई युज गर्नुभो, फाल्नुभो । प्रचण्डलाई युज गर्नुभो र फाल्नुभो । अहिले लडाकुलाई पनि त्यसै गर्न खोज्नुभएको छ ।

तपाईको प्रतिक्रिया