रिपेश दाहाल, हेटौँडा :कुन मन्दिरमा जान्छौँ यात्री? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसोरी लाने हो ?’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध र रविन शर्माको आवाजमा स्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र ‘वासुदेव’मा समावेश गरिएको यो मिठो सङ्गीतमा पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलमा स्नातक तहमा अध्ययनरत सर्लाहीकी स्मीता थापा ‘टिकटक भिडियो’ छायाङ्कन गर्दै थिइन्।

त्यहाँ उनी जस्तै भिडियो बनाउने अरू धेरै थिए तर सबैले यही एउटा मात्र गीतमा भिडियो बनाइरहेका थिए। एउटा ढुङ्गेधारा उनीहरुको एकमात्र ‘सुटिङ स्पट’ थियो। धाराको डिलमा बसेर कापी कलम बोकेर केही लेखेजस्तो गरेर फोटो खिच्नेहरु पनि प्रशस्त थिए।

केहीबेर त्यहाँ बसेर त्यो गतिविधि नियाल्ने जो कोहीलाई पनि त्यो धारा र त्यो गीतसँग पक्कै पनि केही न केही अन्तरसम्बन्ध छ भन्ने कुराको भान परिहाल्छ। मनमा पलाएको कौतुहलता मेट्न धारा नजिकै भएको बोर्ड अध्ययन गर्न पनि सकिने रहेछ। बोर्डमा लेखिएको छ, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘यात्री’ कविताको रचनास्थल ‘गुर्जुधारा’।’

मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङस्थित “गुर्जुधारा” चन्द्रागिरिको फेदीमा मकवानपुरपट्टि पर्छ। यातायातको विकास हुनुअघि भारत तथा नेपालका विभिन्न क्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने एक मात्र नाका चित्लाङ भएकोले यही मार्ग भएर आउजाउ गर्नु थुप्रै नेपाली र विदेशीको एकमात्र विकल्प थियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटा त्यही मार्ग हुँदै कैयौँ पटक आवतजावत गर्थे कुनै कवि सम्मेलनमा सहभागी हुन भारत जान लागेका महाकवि देवकोटा एकदिन गुर्जुधारा नजिकै धर्मशालामा बास बसेका थिए।

बास बस्ने क्रममा उनले पशुपति दर्शनका लागि भारतदेखि आएका तीर्थयात्रु पहाडी बाटोमा हिँड्न नसकेर भरियामार्फत बोकिएर हिँडेको, उनीहरुसँग अशक्त, अपाङ्ग तथा माग्नेले भिखको लागि हारगुहार गरेको तर उनीहरुले बेवास्ता गरेको देखे।
हेर्दा निकै नै धनाढ्य देखिने ती यात्रीहरुले धर्मशाला वरिपरि बसेका भिखारीको भिख र सहयोगको अनुरोध भने नसुनेझैँ गरी बेवास्ता गरेकोप्रति भावुक भएर महाकविले ‘यात्री’ कविता लेखेको अग्रजहरुबाट सुनेको बताउछन् स्थानीय स्वछन्द्र भैरव माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा होमस्टे सङ्घका केन्द्रीय सल्लाहकार बुद्धरत्न मानन्धर।

स्थानीय होमस्टे सञ्चालकसमेत रहेका मानन्धरका अनुसार ऐतिहासिक व्यापारिक बाटो (सिल्क रोड)मा रहेको गुर्जुधारा चन्द्रागिरि पर्वतको फेदीमा अवस्थित छ।

यहाँ महाकवि देवकोटाले रचना गरेका अनेकौँ रचनामध्ये ‘यात्री’ कविता सुप्रसिद्ध भएको छ र यसै प्रसिद्धिको नाताले मानन्धरले यहाँ एउटा होमस्टे खोलेका छन्। जसको नाम  ‘गुर्जुधारा होमस्टे’ राखिएको छ।

चित्लाङमा गुर्जुधारा मात्रै हैन थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्।

मानन्धरका अनुसार चित्लाङ नेपालको पुराना शहरमध्ये एक हो। लिच्छवीकालीन राजा अंशुवर्माले सातौँ शताब्दीमा यो शहर बसालेको इतिहासकारलाई उद्धृत गर्दै मानन्धर बताउछन्। चन्द्रगिरिबाट एक घण्टाको पैदल दूरीमा पर्ने चित्लाङ प्राचीन बस्तीको झल्को दिनेखालका घरले मनमोहक देखिन्छ।

सम्राट् अशोकको प्रतिबद्धताअनुसार उनकी छोरी चारुमतीले बनाएको अशोक चैत्य अर्थात् चारुमती बिहार यहाँको प्रमुख पर्यटकीय गन्तव्यअन्तर्गत पर्दछ। तीनवटा गजुर भएको ढुङ्गैढुङ्गाले बनेको पौराणिक शिव मन्दिर पनि यहाँको अर्को आकर्षक गन्तव्य हो।

मानन्धरका अनुसार चित्लाङको प्राचीन नाम चित्रापुर हो। उसबेला थानकोटको नाम शोणितपुर थियो। त्यहाँका राजा बाणासुरको पुत्री राजकुमारी उषामैयाको सहेली ‘चित्रा’ ले यहाँको प्राकृतिक सुन्दरतालाइ मन पराएर दैनिक आउने गरेकीले यो ठाउँको नाम चित्रापुर रहन गयो।

पछि भारतका सम्राट अशोकपुत्री चारुमती स्वयम्भूको दर्शनार्थ आउँदा चित्रापुरको बाटो हुँदै स्वयम्भूको दर्शन गरिन् र काष्ठमण्डपको उत्तरको विशाल मैदानबीचमा एउटा बौद्ध बिहार बनाइन् जसको नाम क्रमशः चाबहीर चाबहिल र चाबेल रहन गयो। यो घटनाक्रम २२ सय वर्ष अघिको थियो र सोही बखत चारुमतीको सहयोगमा यता चित्रापुरमा पनि एउटा ‘चैत्य’ निर्माण भयो जसलाई अशोक चैत्य भनिन थालियो।

चारैतिरका मान्छेहरुले चैत्य दर्शन गर्न आउन थाले। नेवारहरुले चैत्य आउँदा प्रयोग गरेको यहाँको बाटोलाई चैत्य लँ भन्न थाले। लँ को अर्थ बाटो हो। चैत्यलँ भनिँदै जाँदा यो चित्रापुर भन्ने ठाउँको नाम नै चैत्यलँ बाट चैत्यलङ चेतलङ हुँदै चित्लाङ हुन गएको बताइन्छ। यस ठाउँको नाम चित्लाङ नामकरण भएको करिब  दुई हजार दुई सय वर्ष जति भएको मानन्धर बताउछन्।

समुद्री सतहबाट दुई ५०० मिटरको उचाइमा रहेको चन्द्रागिरि पर्वतको दक्षिणी पानीढलोपट्टिको भाग चित्लाङमा पर्छ। ऐतिहासिक भालेश्वर महादेवको प्राचीन मन्दिर चित्लाङतिर पर्छ तर हाल नयाँ विशाल मन्दिर बनेपछि पुरानो मन्दिरको भने बेवास्ता भएको पाइन्छ।

चित्लाङको मुख्यबस्ती समुद्री सतहबाट एक हजार ७५० मिटरको उचाइमा पर्दछ। दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौंसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ।

देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाडी चउर चित्लाङमै पर्दछ। यहाँ सरकारले विगतमा सञ्चालन गरेको भेडा फार्म र प्रदेश सरकारले बाख्रा विकास फार्मको रुपमा सञ्चालन गरिरहेको छ।

बाख्राको दूध र त्यसबाट बनेको ‘चिज’ का लागि पनि चित्लाङ प्रसिद्ध छ। विगतमा मुलाको लागि प्रसिद्ध चित्लाङ खुर्सानीका लागि पनि उत्तिकै परिचित छ।

यहाँ दुईवटा सुविधा सम्पन्न रिसोर्ट र २० वटा होमस्टे सञ्चालित रहेको र हप्तामा ७०० देखि एक हजारसम्मले बास बस्ने गरेको बताउनुहुन्छ चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक रामशरण नेपाल।

नेपालका अनुसार यहाँ दैनिक मोटरसाइकल वा गाडीमा घुम्न आउने र फर्कनेको सङ्ख्या सयौँ छ। केही विदेशी तथा अधिकांश नेपाली पर्यटकले भरिभराउ रहने चित्लाङमा एकरात बस्नेगरी जानेको सङ्ख्या बढी हुने होटल व्यवसायी बताउँछन्। शुक्रबार यहाँका अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छन्।

एशियामा नेपालमा मात्रै पाइने उँटे भेडा ‘अल्पाका’ पनि चित्लाङमा पालिएको छ। रिस उठ्यो भने थुकेर रिस मार्ने यो प्रजातिको ऊन संसारमा सबैभन्दा महङ्गो ऊन हो। यही जनावरलाई हेर्नका लागि मात्रै बर्सेनि यहाँ हजारौँ मानिस आउँछन्।

यहाँको अर्को आकर्षण हो, जैतुन खेती। जैतुन स्वास्थ्यवर्द्धक तेलका लागि विश्व प्रसिद्ध छ। अत्यन्तै महँगो मूल्यमा बिक्री हुने तेल उत्पादन हुने जैतुन वातावरणमा सबैभन्दा अक्सिजन फाल्ने वनस्पतीमध्ये पर्दछ।

चित्लाङमा विदेशको मरुभूमिमा मात्र देख्न पाइने क्वाड बाइक भनिने चारपाङ्ग्रे मोटरसाइकलको मज्जा पनि लिन सकिन्छ।

यहाँ आउने पर्यटकले भरपुर आनन्द लिएको पाइन्छ। काठमाडौंको थानकोटबाट एक दिनका लागि यहाँ आएकी सम्झना कोइराला चित्लाङको चित्ताकर्षणले लोभ्याएको बताउँछिन्।

ग्रामीण स्वच्छ वातावरण, पौराणिक चिजबिज, बगान ऐतिहासिकस्थल आदिले उनलाई आनन्दित पारेको छ। ‘यो पटक साथीसँग आएँ अब परिवारसँग चाँडै आउँछु’, उनले भनिन्।

हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयकी शिक्षिका कुशुम थापालाई पनि चित्लाङ साह्रै मन पर्यो। सहकर्मीहरूसँग घुम्न आएकी उनलाई जैविक खेती, ऐतिहासिक सातधारा, गुर्जुधारा, चन्द्र दरबार, पौराणिक वस्तुहरु आदिको भ्रमणले आनन्दित बनाएको बताउँछन्।

चित्लाङको विकास र पर्यटकीय प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकार लागि परेको थाहानगरका प्रमुख लवशेर विष्ट बताउछन्। ‘हामीले सङ्घीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर चित्लाङको विकासका लागि थुप्रै योजना बनाएका छौँ, कतिपय काम भइरहेका छन् कतिपय हुँदैछन्’, उनले भने।

तपाईको प्रतिक्रिया