पोखरा : गण्डकी प्रदेशका सभासद् दीपक मनाङे भनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामालाई डाँका चोरी मुद्दाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । जिल्ला अदालत कास्कीबाट बुधबार ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जानकारी दिएको छ ।

दिक्छेन लामालाई पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्गस्थित एक घरबाट कार्तिक ८ गते २० लाख रुपैयाँ जतिको बहुमुल्य धातु र मूर्ति लगायतको धनमाल चोरी गरेको आरोपमा मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार लामालाई रोनित गुरुङको घरमा चोरी गरेको आरोप लागेको हो ।

श्रीमान्–श्रीमती बिच राम्रो सम्बन्ध नभएको र डेढ महिनादेखि अलग भएकी दिक्छेन लामा हेटौंडास्थित आफ्नै माईती घर पदमपोखरीमा बस्दै आएकी थिईन् । उनलाई सभासद् दीपक मनाङेले नै माईतीमा छिन् भन्ने पत्ता लगाएर प्रहरीलाई खबर गरी पक्राउ गरेको दावी गरेका छन् । दीपक मनाङेको फेसबुक स्टाटसमा श्रीमती लामाले डेढ महिनाअघि घर छाडेर हिडेको भनेका छन् भने माईतमा बसेकी लामालाई कार्तिक ८ गते चोरीको आरोप लगाईएको छ । यो विषयमा श्रीमान् श्रीमती बिचको खटपट हो वा वास्तवमा चोरी नै भएको हो भन्ने तथ्य प्रहरी अनुसन्धानबाट नै अवश्य खुल्नेछ ।

मनाङबाट प्रत्यक्ष निर्वाचित सभासद् मनाङेको सामाजिक सञ्जाल फेसबुकमा राखिएको स्टाटसबाट श्रीमान्–श्रीमती बिच राम्रो सम्बन्ध नभएको प्रष्ट बुझिन्छ । गुण्डागर्दी र अपराधिक पृष्ठभूमिबाट आएका दीपक मनाङेले फेसबुकमा चाहे श्रीमती, छोराछोरी वा दाजुभाइ जसले बदमासी गरेपनि कडा भन्दा कडा कारवाही गर्नुपर्ने स्टाटस लेखेका छन् । तर यस विषयमा आरोपित दिक्छेन लामा प्रहरी हिरासतमा भएकाले वास्तविकता र सत्य घटना प्रहरी अनुसन्धान पश्चात् मात्र थाहा हुनेछ ।

तपाईको प्रतिक्रिया