देवघाट : पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधनी एकादशी लगायतका पर्वका अवसरमा नुहाउन नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड १९ (कोरोना भाईरस) को संक्रमणको जोखिम यथावत रहेकोले स्वास्थ्यलाई ख्याल गर्दै नआउ आग्रह गरेको हो ।

समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले एक विज्ञप्ति प्रकाशित गरी हरिबोधनी एकादशी, बालाचतुर्दशी लगायतका मेला पर्वहरुमा नआउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वहरुमा देवघाटधाममा श्रद्धालुहरुको ठूलो जमघट हुने परम्परा रही आएको भए पनि कोरोना भाईरस संक्रमणको जोखिम यथावत नै रहेको र मेला पर्व, उत्सव गरी भिडभाड नगर्ने सरकारको नीति कायमै छ ।” परिस्थितिबस गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्परा अनुसार मनाउन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

देवघाटधाममा अधिकांश बृद्धबृद्धाहरु बसोबास गर्ने गर्दछन् । चिसो मौसममा बृद्धबृद्धामा संक्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने बताईन्छ । देवघाटधाममा विभिन्न धार्मिक पर्वहरुमा स्नान, दान र पूजा गर्न ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया