नारायण सापकोटा, माडी : जनयुद्धका लडाकु माडी नगरपालिका वडा नं ७ निवासी नेत्र प्रसाद काफ्ले आजकल राजनीतिसँगै बाख्रापालन र सामाजिक काममा व्यस्त रहेका छन् ।

२०७४ सालबाट सामूहिक रुपमा बाख्रापालनमा लागेका उनले २०७६ सालदेखि कमला एकीकृत पशुपक्षी फर्म दर्ता गरी माडी नगरपालिका वडा नं ७ मा व्यवसायिक बाख्रापालन शुरु गरेका हुन् ।

उनको फर्ममा अहिले ४० वटा बोयर तथा बोएर क्रस बाख्रा छन् । केही समय अगाडि उनको फर्ममा १ सय १८ वटा बाख्रा थिए । उनका बाख्रा माडी, भरतपुर,पोखरा, झापा लगायतका ठाउँमा बिक्री हुने गरेका छन् । अहिले उनले क्रस पाठीहरु प्रतिकिलो १ हजारका दरले बेचेका छन् । अहिले पनि उनको खोरमा २० वटा पाठीहरु बिक्रीमा रहेका छन् ।

बाख्रा पालनबाट सन्तुष्ट भएपनि बेलाबेलामा आइपर्ने समस्याले उनलाई समस्या पार्ने गरेको छ । प्राविधिक समस्या एकातिर छ भने वीमाको समस्या अर्कोतिर । नगरपालिकाले उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्ने भनेपनि कार्यान्वयन गरेको छैन। सहुलियतको ऋण बढाउने भनेपनि नबढाउँदा व्यवसाय बढाउन कठिन भएको उनको धारणा रहेको छ ।

आजकल उनले व्यवसायिक बाख्रापालन गर्न खोज्नेलाई प्रोत्साहन गर्दै आवश्यक सल्लाह पनि दिने गरेका छन् । वेरोजगार युवाहरु व्यवसायमा लाग्नुपर्छ भन्दै सीप सिकेर काम गर्न सल्लाह दिन्छन् । विभिन्न सामाजिक संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा लागिरहन्छन् । राजनीतिक कार्यक्रमहरुमा पनि सहभागी हुन्छन् । आफ्नो विचार स्पष्टसँग राख्छन् । आफ्नो व्यवसायसँगै समाजिक सेवामा लाग्नुपर्छ भन्ने सन्देश पनि दिने गरेका छन् ।

अहिले माडीमा बाख्रापालनको लागि प्राविधिक समस्या, वीमाको समस्या नहुने र चरनको व्यवस्था गरी उत्पादनको आधारमा अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन सके बाख्रापानलको भविष्य राम्रो हुने उनको धारणा छ । माडी नगरपालिका वडा नं ७ मा मात्र ७ वटा व्यवसायिक बाख्रा फर्म रहेका छन् भने माडी नगरपालिकाका अन्य वडाहरुमा पनि व्यवसायिक बाख्रा पालनमा आकर्षण बढ्दो छ ।

जनयुद्धको समयमा उनले १८ वटा युद्ध लडे, ६ पटकसम्म घाइते भए , १८ महिना जेल जीवन पनि बिताए । अहिले पनि उनको शरीरमा छर्रा रहेका छन् । सेक्सन कमाण्डर, प्लाटुन भाइस कमाण्डरसम्म भए । अहिले पनि उनी राजनीतिमा सक्रिय देखिन्छन् । समाजसेवा र व्यवसायिक बाखापालनमा बढी व्यस्त हुने गरेका छन् ।

जनयुद्धका कारण देशमा राजतन्त्रको अन्त्य भयो, गणतन्त्र , संविधान सभा बाट संविधान निर्माण, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रजस्ता उपलब्धी भएकोमा उनी खुशी छन् । तर देशको राजनीति स्वार्थको बाटोमा गएको, जनअपेक्षा अनुसार काम नभएको, राजनीतिक नेताहरुको जीवनशैली फेरिएको, परिवर्तनका लागि योगदान गर्नेहरुलाई पछाडि पारिएको देख्दा उनलाई चिन्ता छ ।

स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण हुन् नेत्र काफ्ले । यस्ता युवाहरुको कार्यलाई सम्मान गर्दै समस्या समाधानको लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

 

तपाईको प्रतिक्रिया