एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको एभरटनले शनिबार डिफेन्डिङ च्याम्पियन लिभरपुललाई २–२ को बराबरीमा रोकेको छ ।

यो नतिजासँगै एभरटन यो सिजन लिगमा अपराजित रह्यो र उसको पाँच खेलबाट १३ अंक भएको छ ।

तर एभरटनले मर्सिसाइड डर्बीमा १० वर्षयता लिभरपुललाई हराउन सकेको छैन । १० खेलाडीमा सीमित एभरटनविरुद्ध इन्ज्युरी समयमा जोर्डन हेन्डरसनले गोल गरे पनि ‘भार’ले त्यसलाई मान्यता दिएन् र टिम जितबाट वञ्चित रह्यो ।

लिभरपुलको पाँच खेलबाट १० अंक भएको छ । लिभरपुलले दुई पल्ट अग्रता लिए पनि दुवै अवसरमा एभरटन खेलमा फर्कन सफल रह्यो । लिभरपुलले साडियो मानेले तेस्रो मिनेटमा गरेको गोलको मदतले सुरुआती अग्रता लिए ।

तर माइकल केनले १९ औं मिनेटमा बराबरी गोल फर्काए । मोहम्मद सलाहको गोलमा लिरभपुलले ७२ औं मिनेटमा अग्रता लियो । खेल सकिन नौ मिनेट अगाडि डोमिनिक क्लेभर्ट लेविनले फेरि बराबरी गोल गरे ।

तपाईको प्रतिक्रिया