पटिहानी । भरतपुर–२२ मा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले व्यावसायिक पशुपालनका साथै दूधको विविधीकरण ‘ब्रान्डिङ’ गर्दै बजारीकरण सुरु गरेको छ । लकडाउनको विषम परिस्थितिमा समेत सहकारीले उद्योग संचालन गरि दुधजन्य परिकारको बजारीकरण सुरु गरेको हो।

करिब दुई करोड लागत साझेदारीमा एक हजार लिटर दही उत्पादनको प्लान्ट निर्माण गरिएको र दुग्धजन्य उत्पादन सुरू गरेको पत्रकारको सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

‘सहकारीले किसानसँग संकलन गरेको दूधका साथै दूधका परिकार पनि तयार गरेर बेच्छ’, सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले भने । उत्पादित वस्तुहरु प्याकिङ गरी गंगा ब्रान्डका रुपमा बिक्री गरिने उनले बताए । उनले गंगा ब्रान्डका दूध, दही, पनिर, नौनी र आइसक्रिम बजारमा ल्याउन लागेको बताए । उद्योग स्थापनाका लागि सहकारी विभागले ८५ लाख रूपैयाँ अनुदानसमेत दिएको थियो ।

गंगानगर दुग्ध सहकारीले स्रोत केन्द्र बनाउन नमुना पशुपालन फार्म सञ्चालनमा पनि ल्याउने भएको छ । दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यका साथ उन्नत जातका गाईभैँसी पाल्ने योजनासहित फार्म सञ्चालन गरिरहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

गंगानगर दुग्ध सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले भरतपुर–२२ स्थित पटलहरामा चार बिघा तीन कट्ठा जग्गा भाडामा लिएर फर्म सञ्चालनमा ल्याइएको बताए ।
विगतमा व्यापारीले धेरै मुनाफा राखेर दूध खरिद गर्दै आएकोमा सहकारीमार्फत खरिद गर्दा किसानले उचित मूल्य पाएका छन् ।

मुलुकभर खुलेका दुग्ध सहकारीले दूधको उत्पादनदेखि बिक्रीसम्मको व्यवस्थापन मिलाएपछि किसानले उत्पादनमा मात्रै चासो राखे पुग्ने भएको छ । २०० लिटर दुध संकलन गरि २०४९ सालमा स्थापित सहकारीले अहिले दैनिक ५५०० लिटर दुध संकलन गर्ने गरेको छ। सजिलोले गर्दा नै उनीहरु पशुपालनमा आकर्षित भएको सापकोटाको भनाइ छ । सहकारीमा २ सय ४१ जना महिलासहित ६०१ जना कुल शेयर सदस्य छन् । सहकारीको संकलन केन्द्रमा सात सय किसानले दूध बेच्ने गर्छन् ।

तपाईको प्रतिक्रिया