काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेश राष्ट्रिय फुटबल टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ ।

शुक्रबार राखेपले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो । यससँगै नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको नेपाली राष्ट्रिय फुटबल टोली व्यवस्थापक मधुसुदन उपाध्यायले बाह्रखरीलाई जानकारी दिए ।

टोली व्यवस्थापक उपाध्यायका अनुसार दसैंलगत्तै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । उनले यसको विषयमा मेडिकल टोलीसँग छलफल भइरहेको बताए ।

यसअघि बंगलादेश फुटबल संघले नेपाललाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो । सोही प्रस्ताव स्वीकार गर्दै एन्फाले प्रशिक्षण सुरु गर्न राखेपसँग अनुमति मागेको थियो । एन्फाले प्रशिक्षण र मैत्रीपूर्ण खेलको अनुमतिका लागि राखेपमा असोजको पहिलो साता निवेदन पेस गरेको थियो ।

अब मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली बंगलादेश जाने छ । बंगलादेशसँगको खेल भने कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातामा हुनेछ । फिफाको क्यालेन्डर अनुसार मैत्रीपूर्ण खेलको मिति नोभेम्बर ११ देखि १९ तारिखसम्म रहेकाले बंगलादेशसँगको मैत्रीपूर्ण खेल सोहीबीचमा हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले अब बंगलादेशको मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार्दै बंगलादेश फुटबल संघलाई पत्र पठाउने छ । त्यसपछि बंगलादेश संघले मिति तोक्दै नेपाललाई पुनः पत्र पठाउने छ । त्यसपछि मात्रै दुबै देशको सहमतिमा खेलको अन्तिम मितिको टुंगो लाग्‍ने नेपाली टोली व्यवस्थापक उपाध्यायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया