भरतपुर महानगरका प्रमुख रेनु दाहाल समृद्ध महानगर निर्माणका लागि तीन वर्षदेखि लागिरहनुभएको छ । उहाँको नेतृत्वमा महानगर क्षेत्रभित्रका अधिकांश सडकहरु कालोपत्रे भएका छन् । समृद्ध महानगरका आधारशीला, सिटीहल, लिंक तथा रिङरोड, ६ लेनका सडक, स्मार्टलाइट लगायतका कामहरु अघि बढेका छन् । समृद्ध महानगर बनाउने अभियानमा केन्द्रित रहेर महानगरका प्रमुख दाहालसँग  गरेको कुराकानी :
 भरतपुर महानगरको प्रमुखका रुपमा काम गर्नुभएको तीन वर्ष भयो, कस्तो अनुभव गर्नुभएको छ ?
समृद्ध महानगर निर्माणका लागि आफू नेतृत्वमा आएपछि समग्र महानगरपालिकाको दिगो र अत्मनिर्भर भई विकास गर्न अल्कालीन, मध्यकालीन तथा दीर्घकालीन विकास निर्माणका कामहरु अगाडि बढिरहँदा गौरवको महसुस भएको छ ।
 तीन वर्षको अवधिमा के कस्ता मुख्य मुख्य विकास निर्माणका कामहरु भए ?
विकासको पहिलो आधार सडकको पूर्वाधार हो । यहाँको आवश्यकता र जनताको माग पनि सडक नै थियो । विगत दुई वर्ष सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखियो । महानगरका वडादेखि महानगरस्तरीय सडक, रिङरोड, तथा लिंकरोड, ६ लेनका सडकका योजनाहरु अगाडि बढेका छन् । महानगरबाट अरबौँका सडक आयोजनाहरु अघि बढेका छन् । कोरोनाको महामारी र निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा गौरवका सडकका आयोजनाहरुले गति लिन भने सकेका छै्रनन् । सडक पूर्वाधारका योजनाहरु सोचेभन्दा बढी परेका छन् ।
 समृद्ध महानगरका लागि कोसेढुंगाको रुपमा रहेका रिंगरोड तथा लिंकरोड, मल्टी कम्प्लेक्स लगायतका विकासका योजनाहरु कहिलेसम्म सम्पन्न होलान् ?

पुलचोक–गोन्द्राङ्ग ७ कि.मि. ६ लेनको सडक निर्माण व्यवसवायी छनोटको अन्तिम चरणमा छ । केही दिनभित्र शिलन्यास गर्ने तयारीमा जुटेका छौँ । भरतपुरमा बन्ने सिटीहलको पनि सँगसँगै शिलन्यास गर्ने तयारी गरेका छौँ । भरतपुर महानगर सडकबत्ती (स्मार्ट स्ट्रिट लाइट) ८० किलोमिटरको २० करोडको टेन्डर भइसकेको छ । यो कामको पनि ठेकेदार छनोटको चरणमा छ । नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय सपिङ मल बनाउनको लागि पिपिई मोडेलमा अघि बढीरहेको छ ।

यो निजी क्षेत्रलाई समेटेर बनाउने तयारीमा जुटेका हौँ । तत्काल १३ किलोमिटर रिंगरोडको काम अघि बढेको छ । जगतपुर साराचोकदेखि शुक्रनगरसम्मको रिंगरोडको काम अघि बढेको छ । नारायणी नदी किनारतर्फबाट ३ किलोमिटरको रिंगरोडको काम पनि सुरु भएको छ । रिंगरोडका साथसाथै लिंकरोडका काम पनि निर्माणाधीन अवस्थामा छन् ।
पर्यटन क्षेत्रको विकास गर्न नारायणी नदी किनारलाई सि–बिच मोडलमा अगाडि बढाएका छौँ । महानगरका गौरवका विकास निर्माणका कामहरु गर्न यो वर्ष पनि संघीय तथा प्रदेश सरकारबाट पनि बजेट परेको छ । तीन तहकै सरकारबाट बजेट परेको छ । गुरुयोजनाअनुसार काम अगाडि बढाउने तयारीमा छौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पनि प्रतिकुल अवस्थाका बाबजुद पनि अगाडि बढीरहेको छ ।
भरतपुर महानगरलाई भविष्यमा कुन क्षेत्रको हवको रुपमा अगाडि बढाउने योजना छ ?
भरतपुर मेडिकल सिटीको रुपमा परिचित छ । यहाँ दुईवटा मेडिकल कलेजहरु छन् । कृषि क्षेत्रको पनि हव बन्न सक्छ । दूध, मासु, अण्डामा अत्मनिर्भर जिल्ला हो । अन्नबालीको भण्डार बनाउन सकिन्छ । माछापालन, मौरीपालनका दृष्टिकोणले पनि राम्रो छ । पोल्ट्रीको राजधानी पनि हो चितवन । कुखुरापालन व्यवसाय पनि फस्टाउँदो छ । शिक्षाको पनि राम्रो सम्भावना छ । कृषि वन विश्वविद्यालय यहीँ छ । त्रिभुवन तथा पुर्वाञ्चल र पोखरा विश्वविद्यालय अन्तरगतका कलेज र क्याम्पस यहीँ छन् । त्रिवी अन्तर्गतको इन्जिनियरिङ आंगिक कलेज स्थापना गर्न सफल भएका छौँ । यो ३० वर्षपछिको ठूलो उपलब्धी हो । प्रावधिक शिक्षालयहरु पनि छन् । महानगरले शिक्षाको क्षेत्रमा ठूलो लगानी गरेको छ ।
 महानगरले व्यवसायिक किसानलाई कृषिकर्म गर्न अनुदान पनि दिएको छ कि ?
कृषि क्षेत्रमा विगतदेखि नै अनुदान दिँदै आएका छौँ । विशेषगरी कोरोनाको महामारीमा वैदेशिक रोजगारबाट फर्किएका नेपाली दाजुभाइलाई स्वदेशी कृषि कर्ममा रमाउन अनुदानको व्यवस्था गरेका छौँ । कृषकले २५ लाख ऋण लिँदा महानगरले २ प्रतिशत व्याज महानगरले बेहोर्ने र पाँचलाख बैंकबाट ऋण लिँदा महागनरले शतप्रतिशत व्याज बेहोर्ने नीति बनाएका छौँ । यो नीति नगरसभाबाट पारित गरी लागू गरिसकियो । कृषिमा यान्त्रिकरण, औद्योगिकरण हुदैँ आनुधिकीकरणतर्फ लागेर जसरी हुन्छ उत्पादकत्व बढाउनुपर्छ भन्ने लक्ष्य राखेर महानगरपालिकाका गतिविधिहरु अगाडि बढाईरहेका छौँ ।
 कोरोना भाइरस (कोभिड–१९) को महामारीले शैक्षिक क्षेत्रमा अनलाइन शिक्षाको टड्कारो आवश्यकता खड्किएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन महानगरले के गर्दैछ ?
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन संघीय सरकारले नै खाका तयार गर्नुपर्छ । महानगरको श्रोत साधनले भ्याएसमम हामी समन्वय गर्न तयार छौँ । तर महानगर एक्लैले आँटेर सम्भव छैन । निम्न तथा विपन्न वर्गका बालबालिकाहरु प्रविधिको साधनस्रोत (मोबाइल, टिभी, रेडियो, इन्टरनेट) को पहुँचभन्दा टाढा छन् । धनी र विपन्न बीच ठूला असमान छ । तर पनि सामुदायिक विद्यालयले भएका साधनस्रोतलाई प्रयोग गर्दै प्रविधिमैत्री शिक्षणलाई अगाडि बढाउनु पर्छ । महानगर हातेमालो गरेर अघि बढ्न तयार छ ।
भरतपुर विमानस्थलको स्तरोन्नति गरी प्रादेशिक विमानस्थलको रुपमा विकास गर्ने भरतपुर महानगरको कार्ययोजना कहाँसम्म पुग्यो ?
यो कार्ययोजना सफल बनाउन सरोकारवालासँग गतवर्ष वृहत अन्तरक्रिया ग¥यौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पर्यटनमन्त्री योगेश भट्टराईसहितको उच्चस्तरीय अन्तरक्रियाले खाका तयार गरेर अघि बढेका छौँ ।

अहिलेको संघीय नीति तथा कार्यक्रमले प्रदेशस्तरीय विमानस्थल बनाउने कुरा पारित गरेको छ । विस्तृत अध्ययन परियोजनाको (डिपिआर) को लागि बजेट पनि संघीय सरकारले छुट्टाएको छ । यो गुरुयोजना हो । स्तरवृद्धिको काम अघि बढेको छ । यसको लागि महानगर संघीय सरकार र भरतपुर व्यारेक नेपाली सेना हातेमालो गरेर अघि बढेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि भरतपुर महानगरले के कस्ता प्रयासहरु गरेको छ ?
भरतपुर महानगर देशमै पहिलोटपटक भरतपुर कोरोना अस्थायी अस्पताल बनायो । विभिन्न खिचातानीले विवादित बनाइयो र पछि भरतपुर अस्पतालको स्वामित्वमा छोडियो । पछिल्लोपटक प्राकृतिक पद्धितिबाट संक्रमितको उपचार गर्न वागेश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेसन सेन्टर बनाएर उपचार सुरु गरिएको छ । भरतपुर अस्पतालमा पनि आइसोलेसन र आइसियु कक्षहरु थपिएका छन् । स्वाव परक्षिणको आवश्यकतालाई ध्यानमा राखेर भरतपुर कोभिड प्रयोगशाला सञ्चालनको संयोजन र पहल कदमी लियौँ ।
नियमित रुपमा वडा वडाबाट स्वाव संकलन गरी प्रयोगशालामा पठाउने व्यवस्था मिलाएका छौँ । घरमा बस्ने वातावरण नभएका र डेरामा बस्नेलाई जटिल लक्षण नदेखिएका संक्रमितलाई वागेश्वरीमा व्यवस्थापन गरेका छौँ । सुरुवातीमा वडास्तरमा क्वोरन्टाइन बनाएर राख्यौँ । राहत वितरण गरियो । संघीय सरकारबाट कोभिड नियन्त्रणको लागि बजेट नआएपनि महानगरकै विकास खर्च कटौती गरेर व्यवस्थापन मिलाएका छौँ ।
समृद्ध महानगर निमार्णका लागि थप भावी योजनाहरु छन् कि ?
माथि उल्लेखित योजनाहरु सम्पन्न गर्नुपर्ने चुनौती छ । प्रतिकुलका बावजुद पनि अल्कालीन, मध्यकालीन, दीर्घकालीन योजनाहरु सम्पन्न गर्न अहोरात्र खटिएका छौँ ।
मेयरसाव अन्त्यमा केही भन्नु छ कि ?
समृद्ध महानगर निर्माणका लागि हामीले गरेका प्रयासहरु  सार्वजनिक गरिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । हाम्रा विकासका गतिविधि सम्पूर्ण महानगरका वासिन्दा र देशैभरि पुग्ने गरी राख्ने अवसर दिनुभएकोमा तपाईंलाई विशेष धन्यवाद दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया