चितवन : कोरोना महामारीका कारण समस्यामा परेका सौराहामा मुसहर समुदायलाई बुधवार राहत प्रदान गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाले रत्ननगर ७ मालपुरका ४१ मुसहर र एक कुमाल गरी ४२ घर परिवारलाई राहत वितरण गरेको हो ।    
जिविकोपार्जनमा समस्या झेल्दै आएका मुसहर समुदायलाई जितीया पर्व मनाउन सहज होस भनेर राहत प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । विहान बेलुका छाक टार्न समस्या भएपछि वडा कार्यालयको लिखित आग्रहका आधारमा राहत प्रदान गरिएको उनले बताए ।
सामाजिक दुरी कायम गरी राहत वितरण गरिएको हो । सपना भिलेजले प्रतिपरिवार २० किलो चामल,१ किलो दाल,१ किलो नुन,सोयाविन,१ लिटर तेल प्रदान गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए । उनले प्रतिपरिवार दुई वटा माक्स समेत वितरण गरिएको जानकारी दिए । वडा सदस्य भगन्ती माझीको रोहबरमा इम्प्याम्टका अध्यक्ष गिरीले राहत हस्तान्तरण गरेका थिए ।
कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण समस्या झेल्दै आएका विपन्न समुदायलाई सपना भिलेजले विगत ६ महिना अघि देखि राहत वितरण प्रदान गर्दै आएको छ ।
सपना फुड बैंक स्थापना गरी रत्ननगर,खैरहनी,इच्छाकामनाका विपन्न समुदायलाई राहत वितरण गरिसकेको छ । स्थानीय सरकारसंग सहकार्य गरी काम गरिरहेको सपना भिलेजले चितवनका चेपाङ समुदायको आयआर्जन र विकास र विपन्न समुदायलाई आवास निर्माणको काम गरिरहेको छ । मुसहर समुदायको जीवन स्तर उकास्न आयआर्जनको काम सुरु गर्ने योजना बनाएको छ ।
मुसहर समुदायका महिलाहरुको समुह बनाएर उनीहरुलाई तरकारी खेतीमा आर्कषित गर्ने योजना रहेको इम्प्याक्टका अध्यक्ष गिरीले बताए । राहत वितरण कार्यक्रमको सहजीकरण इम्प्याक्टका परियोजना अधिकृत अनिल अर्यालले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया